दफा
उपभोग्य वस्तु वा सेवाको आपूर्तिलाई व्यवस्थित तथा नियन्त्रित गर्ने अधिकार

(१) उपभोक्ताको हक हित संरक्षण गर्नको निमित्त उपभोग्य वस्तु वा सेवाको आपूर्तिलाई व्यवस्थित, नियन्त्रित तथा नियमित गर्न नेपाल सरकारले देहाय बमोजिमको अधिकार प्रयोग गर्नेछ –
(क) उपभोग्य वस्तु वा सेवाको गुणस्तर, मूल्य निर्धारण र आपूर्ति व्यवस्था सम्बन्धी नीति निर्माण गर्ने,
(ख) उपभोक्ताको हक हितमा प्रतिकूल असर पार्ने किसिमका एकाधिकार तथा अनुचित व्यापारिक क्रियाकलापलाई अनुगमन, रोकथाम र नियन्त्रण गर्ने सम्बन्धमा कार्य योजना बनाई उक्त कार्य योजना कार्यान्वयन गर्ने,
(ग) देश भित्र खपत हुने उपभोग्य वस्तुको माग र आपूर्ति स्थितिको विश्लेषण तथा समीक्षा गर्ने,
(घ) उपभोग्य वस्तुको उत्पादक, बिक्रेता वा वितरकहरूले अवाञ्छित तरिकाले गरेको मूल्य वृद्धिलाई रोक्न आवश्यक व्यवस्था गर्ने,
(ङ) उपभोग्य वस्तुको कृत्रिम वा अनुपयुक्त तवरले अभाव सृजना गर्ने किसिमका अनुचित व्यापारिक क्रियाकलापलाई हतोत्साहित
गर्ने ।
(२) उपभोक्ताको हक हित संरक्षण, आपूर्ति व्यवस्था नियमित र उपभोग्य वस्तु तथा सेवाको मूल्य एवं गुणस्तर नियन्त्रण सम्बन्धी व्यवस्थाहरूको प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक व्यवस्था गर्नेछ ।